चिनियाँ विद्युतीय सवारी (ईभी) निर्माता नेटाले उत्पादन बन्द गरी कर्मचारीहरूको तलब घटाएको समाचार सार्वजनिक भएको छ। कारन्युजचाइना.कम अनुसार, होजोन अटोको नेटा ब्रान्डले झेइजियाङस्थित आफ्नो मुख्य कारखानामा उत्पादन बन्द गरेको छ, र बिक्री घटेका कारणले कामदारहरूको तलब कटौती गरेको छ।
नेटा ब्रान्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ योङले पनि सामाजिक सञ्जालमा, जस्तै वेइबो र टिकटकमा, नेटा ब्रान्डसँग सम्बन्धित पोस्ट गर्न रोकिएको छ। सन् २०१८ मा स्थापना भएको नेटा सुरुवातमा किफायती मूल्यका ईभी उत्पादन गर्ने मुख्य कम्पनीहरूमध्ये एक थियो। २०२२ मा, १ लाख ५० हजारभन्दा बढी युनिट उत्पादन गरेर नेटाले ली अटो, निओ, र एक्सपेङजस्ता प्रतिस्पर्धीलाई उछिनेको थियो।
बजार विस्तार गर्न नेटाले त्यसपछि महँगा र प्रिमियम मोडलहरू, जस्तै नेटा आया (नेटा भी २), नेटा एक्स, नेटा जीटी, नेटा एल, नेटा एस, र नेटा एस हन्टिङ, बजारमा ल्याएको थियो।
चीनमा चुनौतीहरू
नेटा अहिले चिनियाँ बजारमा ठूलो चुनौतीको सामना गरिरहेको छ। महँगो वर्गका ईभीहरू बिक्रीमा चुनौती देखिएको छ। जनवरीदेखि सेप्टेम्बरसम्म नेटाले ५३,८५३ युनिट ईभी बिक्री गरेको छ, जुन उसको वार्षिक लक्ष्यको ३० प्रतिशतभन्दा कम हो। यस महिनाको बिक्री संख्या नेटाले सार्वजनिक नगरेको कारणले पनि बजारमा अनिश्चितता बढेको छ। उद्योग विश्लेषकहरूका अनुसार नेटाले अक्टोबरमा मात्र ४,५०० युनिट ईभी आपूर्ति गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले कम हो। नेटा एस हन्टिङ मोडलमा एसेसरिजको अभाव र अन्य मोडलहरूको बिक्रीमा कमीले आपूर्ति घटेको हो।
नेटाको मुख्य कारखाना झेइजियाङको टोङजियाङमा आधा महिनाका लागि बन्द गरिएको छ। यो कारखानाले वार्षिक रूपमा २ लाख युनिट ईभी उत्पादन गर्छ र मुख्य रूपमा नेटा एल क्रसओभर मोडल उत्पादन गर्दै आएको छ।
सन् २०२४ मा नेटाले कामदारहरूको तलब कटौती गरेको छ, जसमा केही कामदारले आफ्नो अघिल्लो महिनाको तलब समयमा पाउन नसकेको बताएका छन्। उच्च पदमा रहेका कर्मचारीहरूको तलब ३० प्रतिशतसम्म घटाइएको खबर आएको छ।
समाजिक सञ्जालमा सक्रिय रहने सीईओ झाङ योङ पनि १४ अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका हुन्। नेटाको मातृ कम्पनी होजोन अटोले २०२१ मा ¥४.८४ अर्ब (६७ करोड ६० लाख अमेरिकी डलर) नोक्सान बेहोरेको थियो। २०२२ मा ¥६.६७ अर्ब (९३ करोड डलर) र २०२३ मा ¥६.८७ अर्ब (९६ करोड डलर) नोक्सान भएको होजोनको नगद कोषमा हाल ¥२.८३ अर्ब (३९ करोड ५० लाख डलर) मात्र बाँकी रहेको छ।
सन् २०२३ को जुनमा होजोनले हङकङ स्टक एक्सचेन्जमा सूचीकृत हुन आवेदन दिएको थियो। हाल नेटा मध्य एसिया, दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र दक्षिण अफ्रिकामा पनि विस्तार भएको छ।